८ जेष्ठ २०८१, मंगलबार

चे ग्वेभारा जन्मिएको घर बेच्ने तयारी

प्रकाशित मिति :  26 June, 2020 8:36 pm


काठमाडौं, १२ असार ।

बीसौं शताब्दीका चर्चित कम्युनिष्ट क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभारा जन्मिएको घर बिक्रीको तयारी भएको छ ।

अर्जेन्टिनाको रोजारियो शहरमा रहेको ग्वेभारा जन्मेको घर बेच्न लागिएको हो । २५८० वर्ग फुट घर जसलाई फ्रान्सिस्को फर्रुजियाले सन् २००२ मा किनेका थिए र त्यसलाई फेरी बेच्न लागिएको छ ।

फर्रुजियाले ग्वेभारा जन्मिएको घरलाई सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्न चाहेपनि यथार्थमा परिणत गर्न नसकेको बताएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यद्यपि फर्रुजियाले ग्वेभारा जन्मेको घरको मूल्य भने खुलाएका छैनन् ।  धेरै वर्षदेखि धेरै मानिसहरू यस भवन हेर्न आउने गरेका छन् ।

ग्वेभारा जन्मेको घर हेर्न आउने प्रसिद्ध व्यक्तिहरुमा उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा र क्युवाली क्रान्तिकारी नेता फिदेल क्यास्त्रोका परिवारसमेत रहेका छन् ।

उक्त घरमा पुग्ने सबैभन्दा प्रख्यात व्यक्ति अल्बर्टो ग्रानाडोस हुन् जसले दक्षिण अमेरिकामा चे ग्वेभारासँग पचासको दशकमा मोटरसाइकलमा यात्रा गरेका थिए। डाक्टर ग्रानाडोस चेका साथी साथी थिए।

चे ग्वेभारा १९२८ मा मध्यमवर्गीय परिवारमा जन्मेका थिए तर उनले दक्षिण अमेरिकामा गरिबी  र भोक देखेर क्रान्तिको बाटो अपनाए।  क्युवाली क्रान्तिमा उनले महत्वपूर्ण भूमिका खेले। यस क्रान्तिमा फुल्जेन्सिको बटिस्टाको तानाशाही शासन हटाईएको थियो ।

यसपछि, चेले क्रान्तिलाई सम्पूर्ण दक्षिण अमेरिका र विकासशील देशहरूमा फैलाउने योजना बनाए । चे ग्वेभारा क्युबाबाट बोलिभिया गए र राष्ट्रपति रेने ब्यारिएन्टोस ओर्टोनोको बिरूद्ध विद्रोही सेनाको नेतृत्व गरेका थिए। अमेरिकाको सहयोगमा बोलिभियाको सेनाले चे ग्वेभरा र बाँकी लडाकुहरूलाई समात्यो।

अमेरीकी सेनाले अक्टुबर,१९६७ मा चे ग्वेभारालाई ला हिग्युरा भन्ने गाउँमा हत्या गर्यो र उनको शव एउटा गोप्य ठाउँमा गाडियो । १९९७ मा ग्वेभारा गाडिएको ठाँउ पत्ता लगाएर अवशेषहरू क्युबामा ल्याइएको थियो र उनलाई फेरि दाहसंस्कार गरियो। कम्युनिष्ट क्रान्तिकारीहरुका लागि उनी आदर्श व्यक्तिका रुपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस !