नेपाली कम्युनिस्ट पार्टीभित्र गम्भीर दरार : कुलप्रसाद केसीसहित ७ नेता निष्कासित
दाङ । उम्मेदवार चयनलाई लिएर चुलिएको असन्तुष्टिले नेपाली कम्युनिस्ट पार्टीभित्र गम्भीर दरार देखिएको छ । पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता कुलप्रसाद केसीसहित सात जना नेतामाथि पार्टीले कडा कारबाही गर्दै निष्कासन गरेको छ ।
नेकपाले दाङमा मेटमणि चौधरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए । पार्टी नेतृत्वको निर्देशनलाई बेवास्ता गर्दै बागी उम्मेदवार बनेको आरोपमा उनलाई शनिबार पार्टीबाट निष्कासन गरिएको हो ।
पार्टी नेतृत्वका अनुसार आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने मात्र होइन, बागी उम्मेदवारलाई प्रस्तावक र समर्थक बनेको आधारमा पनि कारबाही गरिएको हो ।
यसै क्रममा सिन्धुली–२ मा पार्टी निर्णय विपरीत उम्मेदवारी दर्ता गराउने अभियानमा संलग्न रहेको भन्दै हरिबोल गजुरेलसहित अन्य नेताहरू पनि निष्कासित भएका छन् ।
निष्कासनमा पर्ने अन्य नेताहरूमा सिन्धुलीका महेश्वर दाहाल, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिन लिखित पत्र पठाउँदै आग्रह गरे पनि तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नभएपछि कारबाहीको निर्णय गरिएको पार्टीले जनाएको छ।








