१८ बैशाख २०८१, मंगलबार

रोल्पा नगरपालिकाको रोजगार संयोजक छनौट प्रकृया विवादमा,पहुँचका आधारमा छनौटको आरोप

प्रकाशित मिति :  27 June, 2020 8:50 am


रोल्पा,१३ असार ।

रोल्पा नगरपालिकाको रोजगार संयोजक छनौट प्रकृया विवादमा परेको छ । छनौट प्रकृया पारदर्शी नभएको भन्दै आवेदन दिएका असन्तुष्ट पक्षले विरोध जनाएका छन् ।

नगरपालिकाले कम्प्यूटर सीप परीक्षण र मौखिक अन्तवार्ता नगराई पहुँचका आधारमा रोजगार संयोजक छनौट गरेको आरोप असन्तुष्ट पक्षको छ ।

सदरमुकाम लिवाङमा हिजो पत्रकार सम्मेलन गरेर उनीहरुले ‘सूचनामा उल्लेख भए बमोजिम कम्प्यूटर सम्बन्धि व्यवहारिक परीक्षा नगराएको हुँदा पहिलेको कम्प्यूटर परीक्षा रद्ध गरी पुनः कम्प्यूटरसम्बन्धि सिप परीक्षा गराउनुपर्ने’ माग गरेका छन् । मौखिक अन्तवार्ता समेत नगराएको उनीहरुको भनाई छ ।

असन्तुष्ट आवेदकहरुले मौखिक अन्तरवार्ता नगराई अन्तिम नतिजा प्रकाशित गरेको हुँदा मौखिक परीक्षालाई पनि समावेश गराउनुपर्ने माग गरेका छन् । योग्यताक्रम अनुसार सूची प्रकाशित गर्ता पहिलो व्यक्ति के आधारमा परेको हो सम्पूर्ण कागजात विवरणसहित स्पष्ट पार्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले नगरपालिकाको छनौट प्रकृया परीक्षा निर्देशिका अनुसार नभएको दाबी गरेका छन् । असन्तुष्ट आवेदनकहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ रोजगार संयोजक पदपूर्ति र सेवा सुविधा मापदड २०७६ मा उल्लेख भएका बुँदाहरुको पूर्णरुपमा पालना नगर्ने र रोजगार दिलाउने संयोजकजस्तो जिम्मेवार पदमा आफू अनुकुल व्याख्या गरेर आफ्ना मान्छेलाई भर्ने अनि पहुँच नहुने सक्षम शिक्षित बेरोजगार युवालाई पलायन गराईन्छ भने विचरा लाटासोझा युवाहरुलाई कसरी रोजगारको प्रत्याभूत दिलाउन सक्छन् ।’

रोल्पा नगरपालिकाले जेठ २६ गते रोजगार संयोजकमा छनौट भएका १० जनाको नाम सार्वजनिक गरेको थियो । त्यसलगत्तै आवदेन दिएका असन्तुष्ट पक्षले विरोध गर्दै आएका छन् । उनीहरुले रोल्पा नगरपालिकालाई ५ बुँदे ध्यानाकर्षण पत्र र जिल्ला प्रशासन कार्यालयलाई पनि निवेदन दिएका थिए ।

रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने छनौट समितिले प्रकृया पुरा गरेर संयोजक छनौट गरिएको जानकारी दिए । उनले लुम्बिनी सञ्चारसँग भने,‘ हाम्रो छनौट समिति छ र समितिले मापदण्ड अनुसार नै छनौट गरेको हो ।’ असन्तुष्ट पक्षले लगाएको आरोप गलत भएको उनको भनाई थियो । मेयर केसीले भने,‘ अन्य गाँउपालिकामा पनि यसरी नै भएको छ त्यसैले हामीले पनि त्यसै अनुसार गरेका छौ मापदण्ड अनुसार छनौट भएकाले प्रकृया अगाडि बढीसकेको छ ।’



प्रतिक्रिया दिनुहोस !