१६ बैशाख २०८१, आइतबार

सरकारको अनुमान गलत,सलह किरा नेपाल भित्रियो

प्रकाशित मिति :  27 June, 2020 3:47 pm


काठमाडौं,१३ असार ।

कृषि मन्त्रालयको अनुमान विपरित सलह किरा नेपाल प्रवेश गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सलह नेपालमा प्रवेश गरेको जानकारी गराएको हो ।

प्राधिकरणले सानो सानो झुण्डमा सलह नेपाल प्रवेश गरेको जानकारी गराएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको जानकारी आएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता डा.केसीले बताए ।

देश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्। आज दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएको छ ।

स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षण गर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ दीपक खनालले जानकारी दिए।

सलह किराको समूहले नेपालमा पुराउन सक्ने क्षतिको अनुमान र यसलाई नियन्त्रण गन कृषि मन्त्रालयले तयारी सुरु गरेको जनाएको छ ।
सलह करोडौंको समूहमा उड्ने फट्याङग्रा प्रजातिको किरा हो ।

मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म बाँच्छ र यो तापक्रममै यो बढी सक्रिय हुन्छ । दिउँसो सक्रिय हुने सलह तापक्रम बढेमा राति पनि सक्रिय हुन्छ।

सलह पचासौं किलोमिटरसम्म लाममा उड्न सक्छ । विभिन्न अध्ययनअनुसार यसले दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ। यस्तै पाँचदेखि सात हजार फिटमाथिसम्म उडेको पुष्टि भएको विज्ञ बताउँछन्। एक किलोमिटरमा हुने सलहले एकै दिनमा ३५ हजार मान्छेको खाना खाइदिने विज्ञ बताउँछन्।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको भन्दै जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो ।

कार्यदलले नेपालमा यो वर्ष सलह किराको आउने सम्भावन न्यून रहेको निष्कर्षसहितको प्रतिवदेन मन्त्रालयले बुझाएको थियो ।
मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने तर आउँदा वर्षका लागि सावधानी अपनाउनु पर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलको निष्कर्ष थियो,‘वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई छैन । ’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरुले समेत सलह नेपाल प्रवेश गर्ने सम्भावना निकै कम भएको दाबी गरेका थिए । तर सरकारी कार्यदलको सुझाव र अनुमान विपरित सलह नेपाल प्रवेश गरेसँगै किसान चिन्तित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !