२० माघ २०८२, मंगलबार

रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

प्रकाशित मिति :  3 February, 2026 9:48 am


काठमाडाैँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा भएको सवारी दुर्घटनामा २१ जना विद्यार्थी घाइते भएका छन्।

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

ओमसतिया गाउँपालिका–४ बसन्तपुर क्षेत्रमा मंगलबार बिहान भएको दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। अन्य ४ जना सामान्य उपचारपछि घर फर्किसकेका छन्।

प्रहरीका अनुसार लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहानको समयमा बाक्लो हुस्सु लागेकाले दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !