१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किराको २५ रुपैयाँ दिने

प्रकाशित मिति :  28 June, 2020 5:36 pm


कैलाली,१४ असार ।

प्रदेश ५ सरकारपछि सुदूरपश्चिम प्रदेश सरकारले पनि सलह किराको मूल्य तोकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किरा समात्नेलाई २५ रुपैयाँ दिने घोषणा गरेको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नेपालमा भित्रिएको सलह किरा समातेर ल्याउनेलाई प्रतिकेजी २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले अहिले सुदूरपश्चिम प्रदेशमा सलह नभित्रिए पनि आउने सम्भावना रहेको र मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

रकम बुझ्न किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनुपर्ने निर्देशक जोशीको भनाई छ । उनले सलह माछाको आहारका रुपमा प्रयोग गर्न सक्ने उनले बताए ।

सलह किरा जम्मा गरेर वडा कार्यालयमा लगे तत्काल नगद दिने निर्देशक जोशीले जानकारी दिए । सलह भित्रने भन्दै मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध समेत गरेको छ ।

निर्देशक जोशीले भने,’अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाईं नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ ।’

प्रदेश ५ सरकारले पनि एक किलो सलह किरा वडा कार्यालयमा बुझाए २० रुपैयाँ दिने घोषणा गरिसकेको छ ।  हिजो एक्कासी बारा र पर्सामा तथा रुपन्देही हुँदै सलह किरा नेपाल भित्रिएर विभिन्न जिल्लामा फैलिसकेको छ ।

मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म बाँच्छ र यो तापक्रममै यो बढी सक्रिय हुन्छ । दिउँसो सक्रिय हुने सलह तापक्रम बढेमा राति पनि सक्रिय हुन्छ।

सलह पचासौं किलोमिटरसम्म लाममा उड्न सक्छ । विभिन्न अध्ययनअनुसार यसले दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ। यस्तै पाँचदेखि सात हजार फिटमाथिसम्म उडेको पुष्टि भएको विज्ञ बताउँछन्।

एक किलोमिटरमा हुने सलहले एकै दिनमा ३५ हजार मान्छेको खाना खाइदिने विज्ञ बताउँछन्। सलह किरा भित्रिएपछि किसानहरु चिन्तित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !