१५ फाल्गुन २०८२, शुक्रबार

‘अपाङ्गता भएका युवाहरूका लागि यौन–प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार आवश्यक छ’

प्रकाशित मिति :  27 February, 2026 2:50 pm


Men and women welcoming people with disabilities. Group of people meeting blind female character and male in wheelchair. People talking, smiling. Inclusion concept for banner, website design

काठमाडाैँ । अपाङ्गता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवामा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्न आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।

ललितपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले नीति सुधार, सेवा प्रदायकको क्षमता विकास र संरचनागत सुधारमार्फत यो लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाकी प्रतिनिधि सर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सेवा प्रवाहका लागि बजेट वृद्धि, क्षमता विकास र सरोकारवालाबिच समन्वय आवश्यक रहेको बताइन।

उनले स्वास्थ्य सम्बन्धी संरचनाहरूलाई क्रमशः अपाङ्गतामैत्री बनाउने काम भइरहेको जानकारी दिँदै भने, “अपाङ्गता मैत्री हुनुपर्छ भन्ने कुरा कम्तिमा सो क्षेत्रमा काम गर्ने सबैलाई बुझ्नुपर्ने हो। कुनै पनि व्यक्तिले गेटबाट प्रवेश गर्दा नै मैत्री व्यवहार अनुभव गर्नुपर्छ। अत्यन्त अशक्त व्यक्तिलाई घरमै गएर सेवा दिने वा आवश्यक अनुसार अस्पतालसम्म पुर्याएर सेवा दिने दुवै तरिका अपनाउन सकिन्छ।”

कार्यक्रमका छलफलमा सहभागीहरूले अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधारका लागि सेवा प्रदायकलाई समावेशी सेवा प्रदान गर्न तालिम दिने, अपाङ्गतामैत्री पूर्वाधार विकास गर्ने, सांकेतिक भाषा र ब्रेलजस्ता पहुँचयोग्य सामग्री उपलब्ध गराउने, तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने आवश्यक रहेको बताएका थिए।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रतिनिधि बाला राईले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार गर्ने र अभिभावकलाई लक्षित कार्यक्रम विकास भइरहेको जानकारी दिँदै यस्ता पहलहरू सरकारसँग समन्वय गरेर अघि बढाउनुपर्नेमा जोड दिइन्। उनले अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच दिनका लागि विद्यालय तहमा शिक्षामा सुधार आवश्यक रहेको बताए।

राईले भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न विद्यालयभित्र र विद्यालय बाहिरका समुदायमा यस्ता कार्यक्रम अघि बढाइएको छ। यसले उनीहरुमैत्री सेवा प्रवाहमा सहजता थप्ने विश्वास छ।”

कार्यक्रममा अपाङ्गता भएका युवाहरूले आफूले भोगेका समस्याहरू र चुनौतीहरू पनि प्रस्तुत गरेका थिए, जसले सेवा प्रवाहमा सुधार र पहुँच सुनिश्चित गर्न आवश्यक कदमको महत्त्व उजागर गरेको छ।



प्रतिक्रिया दिनुहोस !