७ चैत्र २०८२, शनिबार

दान, सहिष्णुता र सामाजिक सद्भावको सन्देश बोकेर इद मनाइँदै

प्रकाशित मिति :  21 March, 2026 9:30 am


काठमाडौँ । एक महिनासम्मको रोजा (उपवास) सम्पन्न गरेपछि मुस्लिम समुदायले आज इद उल फित्र पर्व देशभर हर्षोल्लासका साथ मनाइरहेका छन् ।

धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव, दान र आपसी सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा इदको महत्व झन् बढ्दै गएको देखिन्छ ।

आज बिहानै देशभरका मस्जिद र इदगाहमा विशेष नमाज अदा गरिँदै छ । काठमाडौंस्थित जामे मस्जिद घन्टाघरदेखि लिएर देशका विभिन्न स्थानका मस्जिदहरूमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ । नमाजपछि एकअर्कालाई अँगालो हाल्दै ‘इद मुबारक’ साटासाट गर्ने परम्पराले समुदायबीचको आत्मीयता झल्काउँछ ।

इदको मुख्य सन्देश ‘साझेदारी र सहयोग’ मानिन्छ । त्यसैले यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिने प्रचलन विशेष महत्वका साथ पालना गरिन्छ । मुस्लिम धर्मावलम्बीले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत ‘जकात’का रूपमा अनिवार्य दान गर्ने गर्छन् भने ‘सदकात उल फितर’मार्फत अन्न वा नगद सहयोग पनि प्रदान गरिन्छ । यसले समाजमा आर्थिक सन्तुलन र मानवीय सहयोगको भावना प्रवर्द्धन गर्ने विश्वास छ ।

परिवार र आफन्तसँगको सम्बन्ध पनि यस पर्वमा थप मजबुत बनाइन्छ । ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया दिने चलनले पुस्ताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने गर्छ । घरघरमा सेवई, खजुर लगायत परिकार बनाएर पाहुनालाई सत्कार गर्ने चलनले इदलाई सामाजिक उत्सवको रूप दिएको छ ।

धार्मिक दृष्टिले रोजा आत्मअनुशासन, संयम र आत्मशुद्धिको अभ्यास मानिन्छ । सूर्योदयदेखि सूर्यास्तसम्म निराहार बस्दै आत्मसंयम सिक्ने यो अभ्यासपछि आउने इदलाई ‘आत्मिक विजयको उत्सव’का रूपमा पनि व्याख्या गरिन्छ ।

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । विभिन्न समुदायबीचको सहअस्तित्व र सद्भाव झल्काउने पर्वका रूपमा इद उल फित्रले नेपाली समाजमा विविधताबीच एकताको सन्देश फैलाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !