इदको अवसरमा मुख्यमन्त्रीको सन्देश : ‘विविधतामै नेपालको शक्ति’
दाङ । ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूलाई सामाजिक एकता सुदृढ गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन् ।
उनले इदको सन्देशलाई केवल धार्मिक सीमाभित्र नसमेटी राष्ट्रिय एकता र समावेशी विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
मुख्यमन्त्री आचार्यले आफ्नो शुभकामना सन्देशमार्फत नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचनालाई देशको शक्ति भएको उल्लेख गर्दै ‘विविधतामा एकता’लाई अझ व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनका अनुसार यस्ता पर्वहरूले समुदायबीच विश्वास, सहिष्णुता र सहकार्यको आधार मजबुत बनाउने भूमिका खेल्छन् ।
उनले संविधानले सुनिश्चित गरेका समानता, धर्मनिरपेक्षता र समावेशिताका मूल्यहरूलाई व्यवहारमा कार्यान्वयन गर्न सबै तहको सक्रियता आवश्यक रहेको पनि औंल्याएका छन् । इदले दिने त्याग, संयम र करुणाको सन्देशलाई समाज रूपान्तरणको आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रदेश सरकारले सबै धर्म र संस्कृतिप्रति समान सम्मानको नीति लिएको उल्लेख गर्दै आचार्यले विकास प्रक्रियामा कुनै पनि समुदाय पछाडि नपरोस् भन्ने उद्देश्यसहित काम भइरहेको बताएका छन् । उनले समृद्ध प्रदेश निर्माणका लागि सबै समुदायको सहभागिता अनिवार्य रहेको स्पष्ट पारे ।
इदको अवसरलाई सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।








