८ चैत्र २०८२, आइतबार

पाल्पामा ट्रिपर दुर्घटना: मृतकको संख्या चार पुग्यो

प्रकाशित मिति :  22 March, 2026 10:16 am


दाङ । पाल्पामा शनिबार बेलुकी भएको ट्रिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। दुर्घटनामा घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार र २६ वर्षीय सुनिल विक, रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली तथा पाल्पाको तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। चिदीको भैरहवा मेडिकल कलेज, रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटना माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा भएको प्रहरीले जनाएको छ। लु२ख ४५२५ नम्बरको खाली ट्रिपर झडेवाबाट रहबासतर्फ चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय स्तरमा सडकको अवस्था र सवारी सुरक्षाबारे पनि प्रश्न उठ्न थालेको छ।



प्रतिक्रिया दिनुहोस !