तीन दिनको निषेधाज्ञापछि तौलिहवामा जनजीवन सामान्य
दाङ । महाराजगञ्ज नगरपालिका–स्थित बरगदा गाउँको एक मन्दिरमा भएको तोडफोड घटनापछि उत्पन्न तनावका कारण जारी गरिएको निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन पुनः सामान्य अवस्थामा फर्किएको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि लागू गरेको निषेधाज्ञा आज बिहान ९ बजेदेखि हटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । निषेधाज्ञा हटेसँगै सदरमुकाम तौलिहवा लगायतका क्षेत्रहरूमा दैनिक गतिविधि पुनः सञ्चालनमा आएका छन् ।
तीन दिनसम्म ठप्प जस्तै बनेको तौलिहवाको जनजीवन आजबाट चलायमान बनेको छ। बन्द रहेका बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था तथा बजार क्षेत्र खुलेका छन् भने सार्वजनिक तथा निजी सवारी साधनहरू पनि नियमित रूपमा सञ्चालनमा आएका छन् । स्थानीय बासिन्दाले लामो समयपछि सहज रूपमा आवतजावत गर्न पाएको बताएका छन्।
प्रशासनले सुरक्षा सतर्कता भने कायमै राखेको जनाएको छ । संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गरी सम्भावित अप्रिय घटनालाई नियन्त्रणमा राख्ने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन् ।
यसबीच, स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालाहरूले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। विभिन्न समुदायबीच संवाद र सहकार्यमार्फत विवाद समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रशासनले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा भ्रामक सूचना नफैलाउन र आपसी सद्भाव बिगार्ने गतिविधिमा संलग्न नहुन सबैसँग अनुरोध गरेको छ। साथै, शान्ति सुरक्षामा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको छ ।
घटनापछि उत्पन्न असहज परिस्थितिबाट पाठ सिक्दै दीर्घकालीन रूपमा समुदायबीच विश्वास र सहिष्णुता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।








