१३ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री बालेनको शपथ सम्पन्न : नयाँ अभ्याससहित समारोह

प्रकाशित मिति :  27 March, 2026 12:56 pm


काठमाडौँ । बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो १२ः३२ को शुभसाइतमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहणका लागि बालेनले यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए । शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसपटकको शपथग्रहण कार्यक्रममा नयाँ प्रयोगसमेत गरिएको छ । शपथअघि सात वटा शंखबाट शंखनाद गराइएको थियो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइएको थियो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरिएको थियो ।

शंखनाद र स्वस्तिवाचनलाई वैदिक परम्पराअनुसार शुभ मानिने गरिन्छ । सात शंख बजाउनुलाई सप्तऋषिको आशीर्वादको प्रतीकका रूपमा लिइन्छ भने सात संख्या पूर्णताको संकेतका रूपमा पनि व्याख्या गरिन्छ । यस प्रकारको अभ्यास प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा पहिलो पटक गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !