१३ चैत्र २०८२, शुक्रबार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ : मन्त्रिपरिषद् औपचारिक रूपमा कार्यारम्भ

प्रकाशित मिति :  27 March, 2026 1:12 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले औपचारिक रूपमा कार्यारम्भ गरेसँगै सरकारको प्राथमिकता र शक्ति सन्तुलनबारे संकेतहरू देखिन थालेका छन्।

शपथग्रहण कार्यक्रम यसपटक पनि परम्परागत औपचारिकताभन्दा केही फरक देखियो । बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिँदा राज्यका औपचारिक कार्यक्रममा सांस्कृतिक–आध्यात्मिक अभ्यासलाई निरन्तरता दिइएको देखिएको छ। यसले सरकारको सुरुवातलाई केवल प्रशासनिक प्रक्रिया मात्र नभई सांस्कृतिक सन्देशसँग जोड्ने प्रयास भएको विश्लेषण गरिएको छ।

मन्त्रिपरिषद् गठनलाई हेर्दा शक्ति सन्तुलन र जिम्मेवारी बाँडफाँटमा विशेष ध्यान दिइएको देखिन्छ। प्रधानमन्त्री बालेनले रक्षा र उद्योगजस्ता रणनीतिक मन्त्रालय आफैंसँग राख्दै नेतृत्वको केन्द्रीयता कायम राखेका छन् भने दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमा पुग्नुले आर्थिक सुधारलाई प्राथमिकतामा राखिएको संकेत गरेको छ। गृह मन्त्रालय सुधन गुरुङलाई दिइनु आन्तरिक सुरक्षा व्यवस्थापनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षासँग जोडिएको छ।

त्यस्तै परराष्ट्रमा शिशिर खनाल, ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमा सुनिल लम्साल र पर्यटनमा खड्कराज पौडेल (गनेश) को जिम्मेवारी बाँडफाँटले विकास, पूर्वाधार र कूटनीतिलाई समानान्तर रूपमा अघि बढाउने रणनीति देखाएको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार र प्रशासनजस्ता सामाजिक तथा सेवामुखी मन्त्रालयहरूमा नयाँ अनुहारहरूको प्रवेशले सेवा प्रवाह सुधार्ने अपेक्षा गरिएको छ।

समग्रमा, नयाँ मन्त्रिपरिषद् गठनले केवल पद वितरण मात्र होइन, सरकारको प्राथमिकता, नीति दिशानिर्देशन र कार्यशैलीको संकेतसमेत दिएको छ। अब चुनौती भनेको यी संरचनात्मक सन्तुलनलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु हुनेछ।

को को बने मन्त्री ?

प्रधानमन्त्री, रक्षा र उद्योग मन्त्री-बालेन शाह

अर्थमन्त्री-स्वर्णिम वाग्ले

गृह मन्त्री-सुधन गुरुङ

परराष्ट्र मन्त्री-शिशिर खनाल

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री-सुनिल लम्साल

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री-विराजभक्त श्रेष्ठ

पर्यटनमन्त्री-खड्कराज पौडेल (गनेश)

शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री-सस्मित पोखरेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री-निशा मेहता

सञ्चारमन्त्री-विक्रम तिमिल्सिना

सामान्य प्रशासन मन्त्री-प्रतिभा रावल

श्रम मन्त्री-दीपक साह

कानुन मन्त्रालय-सोविता गौतम



प्रतिक्रिया दिनुहोस !