१९ चैत्र २०८२, बिहिबार

आजदेखि एसईई सुरू : ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

प्रकाशित मिति :  2 April, 2026 7:22 am


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैपटक सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहान ८ बजेदेखि निर्धारित परीक्षा केन्द्रहरूबाट परीक्षा सञ्चालन गरेको हो ।

यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् भने परीक्षा २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको छ।

सहभागीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ परीक्षार्थी छन् । कुल परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको छ-२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना सहभागी छन्। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन्।

परीक्षाका लागि देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। प्रश्नपत्रहरू सातै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमार्फत सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको छ। सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा आवश्यक कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।

यस वर्ष परीक्षा केन्द्रमा हुने सामूहिक अनुगमनमा रोक लगाइएको छ। अनुगमनका नाममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि प्रवेश गर्दा परीक्षार्थीलाई असहज भएको गुनासोपछि यस्तो निर्णय गरिएको हो। अब अनुगमन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमार्फत हुनेछ।

यसैबीच, उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाउन नयाँ निर्देशिका लागू गरिएको छ। परीक्षा सम्पन्न भएको तीन दिनभित्र परीक्षण सक्ने लक्ष्य राखिएको छ। परीक्षण केन्द्रमै बसेर उत्तरपुस्तिका जाँच गर्नुपर्ने, सिसिटिभी जडान भएका सुरक्षित कक्षमा परीक्षण गर्ने, उत्तरपुस्तिका बाहिर लैजान नपाइने लगायत व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइल वा अन्य विद्युतीय उपकरण लैजान पाउने छैनन्। परीक्षणमा लापरबाही देखिएमा पुनः परीक्षण, पारिश्रमिक कट्टा वा सूचीबाट हटाउनेसम्मका कारबाही हुने जनाइएको छ।

नयाँ व्यवस्थासँगै यस वर्षको एसईई परीक्षा व्यवस्थित, पारदर्शी र छिटो नतिजा प्रकाशन हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !