इनिशाको शव २७ दिनपछि परिवारले बुझ्यो
प्रकाशित मिति : 2 April, 2026 1:36 pm
काठमाडौँ । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ।
इनिशाको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए। उनको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको थियो। शवलाइ आजै भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।
उनको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन मंगलबार जिल्ला अदालतले आदेश दिएसँगै परिवारले शव बुझ्न मानेको हो।
फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
पोस्टमार्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र सो कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।








