प्युठानको छेडाघाट बस्तिमा आगलागी हुँदा १३ घरगोठ जले
प्रकाशित मिति : 5 April, 2026 10:25 am
काठमाडौँ । प्युठानको ऐरावती गाउँपालिकाको बस्तीमा आगलागी हुदाँ १३ वटा घरगोठ जलेर नष्ट भएका छन् । ऐरावती गाउँपालिका–१ छेडाघाटमा लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट मध्यराति आगलागी सुरु भई बस्तीभर फैलिएको हो।
शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
आगलागीबाट धेरै घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने गोरु, बाख्रा, कुखुरा लगायत ठूलो संख्यामा पशुचौपाया मरेका छन्। नगद, सुन, लत्ताकपडा, भाँडावर्तन र खाद्यान्नसमेत जलेर नष्ट भएको छ।
आगलागीमा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ भने आगलागीको कारण भने अझै खुल्न सकेको छैन।








