रुपन्देही र काठमाडौंमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार
दाङ । रुपन्देहीमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बायाँ खुट्टाको पिडुलामा गोली लागेको छ र हाल भीम अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो। तर, मोटरसाइकलमा सवार तीन जना भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन प्रयास गरेको थियो।
प्रहरीका अनुसार भाग्ने क्रममा उनीहरूले ढुंगा प्रहार गरेपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली चलाइएको थियो। त्यसक्रममा विशाल यादवसहित भारतको महाराजगञ्ज जिल्लास्थित पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको जनाएको छ। बरामद लागूऔषधमा फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
यसैबीच, प्रहरीले काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा पनि लागूऔषध कारोबारको आशंकामा गोली चलाएको छ। उक्त घटनामा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पनि थप अनुसन्धान जारी रहेको बताइएको छ।








