५ बैशाख २०८३, शनिबार

बाल अधिकारका सवाल पहिचानमा दुईदिने कार्यशाला सम्पन्न

प्रकाशित मिति :  18 April, 2026 6:19 am


लक्ष्मी पाेखरेल
देउखुरी ।
बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जालद्वारा आयोजित दुईदिने कार्यशाला अर्घाखाँचीको सितगंगा नगरपालिका स्थित होटल इभरल्यान्डमा सम्पन्न भएको छ ।

बालबालिकाको अवस्था तथा उनीसँग सम्बन्धित सवालहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट विभिन्न संस्थामा कार्यरत प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यशाला पिस नेपालका अध्यक्षको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, महाशाखा प्रमुख सम्झना सुवेदी र कमला ग्याउली, भालुबाङ इलाका प्रमुख पुष्कर एरी तथा बीडीएस नेपालका प्रतिनिधिहरूले बाल अधिकार, संरक्षण तथा समावेशी विकासका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका क्रममा यौनिक दुर्व्यवहार, तेस्रोलिङ्गी समुदायमाथि हुने भेदभाव तथा लैङ्गिक समानतासम्बन्धी विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।

साथै, बालविवाह न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा तथ्यांक सङ्कलन, व्यवस्थापन तथा बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । यसका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी विशेष पहल गर्नुपर्ने विषयमा समेत विस्तृत छलफल भएको आयोजकले जनाएको छ।

कार्यशालामा सहभागीहरूले बालबालिका तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका चुनौतीबारे अनुभव आदानप्रदान गर्दै दीर्घकालीन समाधानका उपायहरू पहिचान गरेका थिए । बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह, नागरिक समाज र सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रमको सहजीकरण विजय अधिकारीले गरेका थिए । सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै बालविवाह न्यूनीकरण र बाल अधिकार संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !