८ बैशाख २०८३, मंगलबार

ई–रिक्सा दर्ता र लाइसेन्समा जटिलता : नीतिगत स्पष्टता माग्दै विकल्प एन अल्टरनेटिभको पत्रकार सम्मेलन

प्रकाशित मिति :  21 April, 2026 10:19 pm


लक्ष्मी पाेखरेल
देउखुरी ।
ई–रिक्सा सञ्चालनसँग सम्बन्धित दर्ता तथा लाइसेन्स प्रक्रियामा देखिएका जटिलता र अन्योलबारे उजागर गर्न विकल्प एन अल्टरनेटिभले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

मंगलबार सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रममा बोल्दै अधिकारीले ई–रिक्सा चालक तथा व्यवसायीहरूले दर्ता प्रक्रिया जटिल, अस्पष्ट र झन्झटिलो भएको गुनासो व्यापक रूपमा आएको बताए । उनका अनुसार स्थानीय तह र यातायात व्यवस्था कार्यालयबीच समन्वय अभाव हुँदा सेवाग्राहीले अनावश्यक दुःख भोग्नुपरेको छ ।

“ई–रिक्सा वातावरणमैत्री र किफायती यातायातको माध्यम भए पनि व्यवस्थापन स्पष्ट नहुँदा चालकहरू अन्योलमा छन्,” उनले भने, “दर्ता र लाइसेन्स प्रक्रिया सरल, सहज र एकरूप बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्छ।”

पत्रकार सम्मेलनमा सहभागीहरूले ई–रिक्सालाई व्यवस्थित गर्न नीतिगत ढिलाइ भएको र कानुनी स्पष्टता अभावले राजस्व संकलनदेखि सडक व्यवस्थापनसम्म प्रभाव परेको धारणा व्यक्त गरे। उनीहरूले सरोकारवाला निकायबीच समन्वय बढाउँदै स्पष्ट निर्देशिका जारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन गैरसरकारी महासङ्घ नेपालको लुम्बिनी प्रदेश परियोजना संयोजक केशव भुसालले गरेका थिए।

विकल्प एन अल्टरनेटिभले आगामी दिनमा यस विषयमा थप अध्ययन, सरोकारवाला संवाद तथा नीतिगत सुधारका लागि पहल गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !