५ जेष्ठ २०८१, शनिबार

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  30 June, 2020 12:25 pm


काठमाडौं,१६ असार ।  

नेपाली कांग्रेसले कोभिड–१९ बारे सरकारले गरिरहेको कामबारे जानकारी लिनुका साथै प्रभावकार ढंगले काम गर्न ध्यानाकर्षण गराएको छ ।

काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना भाइरस नियन्त्रणको काम थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइृन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ ।

भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताएका छन् ।

साथै उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !