८ जेष्ठ २०८३, शुक्रबार

देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा सरकारले लगायो रोक

प्रकाशित मिति :  22 May, 2026 8:34 am


काठमाडौँ । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा पूर्ण रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक लगाएको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ भएको भन्दै विभागले यस्तो निर्णय गरेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था रहेको छ।

सोही कानुनी व्यवस्थाअनुसार नेपाल सरकारले अर्को सूचना जारी नगरेसम्म सार्वजनिक सवारीसाधन (विद्युतीय सार्वजनिक सवारीसाधन समेत) को नयाँ दर्ता रोक्न सातै प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !