१० जेष्ठ २०८३, आइतबार

१३औँ वार्षिकोत्सवमा स्रष्टा प्रतिष्ठानद्वारा ‘सप्रने काव्य–उत्सव’ सम्पन्न

प्रकाशित मिति :  24 May, 2026 8:45 am


काठमाडौं । स्रष्टा प्रतिष्ठान नेपालले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा ‘सप्रने काव्य–उत्सव’ भव्य रूपमा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित काव्य–उत्सवमा विभिन्न पुस्ताका स्रष्टाहरू एउटै मञ्चमा प्रस्तुत भएका थिए।

प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै नयाँ प्रतिभालाई प्रोत्साहन र स्थापित स्रष्टालाई सम्मान गर्ने उद्देश्यसहित विभिन्न पुस्ताका कविहरूलाई एउटै मञ्चमा ल्याउँदै आएको छ। यसपटकको कार्यक्रममा २२ जना कविले आफ्ना रचना प्रस्तुत गरेका थिए।

काव्य–उत्सवमा उषा शेरचन, दिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठ, विप्लव ढकाल, पूर्णविराम (वाचन परिवर्तन देवकोटा), प्रभा भट्टराई, डा. मानसाग्नी, हरिहर तिमल्सिना, गीता कार्की, विमला तुम्खेवा, प्रोलास सिन्धुलीय, मणी लोहनी, मोहराज शर्मा, रञ्जना निरौला, विश्व सिग्देल, प्रज्वल अधिकारी, सुनिता खनाल, रसिक राज, बिसु केसी, विक्रम पवन परियार, अंशु खनाल र एलिसा ढुङ्गानाले कविता वाचन गरेका थिए।

वि.सं. २०७० साल वैशाख २६ गते स्थापना भएको स्रष्टा प्रतिष्ठान नेपालले विगत एक दशकभन्दा बढी समयदेखि कविता वाचन, साहित्यिक गोष्ठी, सम्मान कार्यक्रम, पुस्तक विमोचन, स्रष्टा संवाद तथा युवा प्रतिभा प्रोत्साहनजस्ता विभिन्न सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा कवि डा. मानसाग्नीले ‘सप्रने’ अझै निरन्तर अघि बढ्दै जाओस् भन्ने काव्यिक शुभकामना व्यक्त गरे। साहित्यकार उषा शेरचनले साहित्यलाई समाजको संवेदनशील ऐनाका रूपमा व्याख्या गर्दै यस्ता साहित्यिक गतिविधिले स्रष्टाहरूलाई थप ऊर्जा प्रदान गर्ने बताइन्। उनले भनिन्, “यस्ता साहित्यिक कार्यक्रममा प्राप्त हुने आत्मसन्तुष्टि शब्दमा व्यक्त गर्न कठिन हुन्छ। सप्रने सधैं सप्रिरहोस्, हार्दिक बधाई।”

कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवस ले कविता आफ्नै मौलिकता र विशिष्टता बोकेको हुनुपर्नेमा जोड दिए। उनले स्रष्टालाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै साहित्यिक सिर्जनाको मूल्य समाजमा अझ बढाउनुपर्ने बताए।

प्रतिष्ठानकी अध्यक्ष स्मृतिले विभिन्न पुस्ताका स्रष्टालाई एउटै मञ्चमा प्रस्तुत गर्नु संस्थाको विशेष पहिचान भएको बताइन्। उनले राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, वैरागी काँइला, बासुदेव त्रिपाठी र तुलसी दिवसलगायत अग्रज व्यक्तित्वहरूको साथ र प्रेरणाले संस्थालाई निरन्तर अघि बढाउन सहयोग पुगेको उल्लेख गरिन्।

कार्यक्रमको सञ्चालन गणेश भट्टले गरेका थिए। साहित्य, कविता र सिर्जनाको माध्यमबाट विभिन्न पुस्तालाई एकै ठाउँमा जोड्ने प्रयासले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !