१३ जेष्ठ २०८३, बुधबार

नेपाली अर्थतन्त्र उपभोगमुखी : सरकार

प्रकाशित मिति :  27 May, 2026 5:35 pm


काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत पुगेको अर्थमन्त्रालयले बताएको छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म स‌घीय खर्च १०.४ प्रतिशतले बढेको छ भने कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले विस्तार भएको छ।

आर्थिक सर्वेक्षणले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिमा सुस्तता, निजी क्षेत्रमा कर्जा प्रवाहको मन्दी, राजस्व प्रशासनको कमजोरी र प्रदेशगत असमानता मुख्य समस्या रहेका स्वीकार गरेको छ।

बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा राष्ट्रिय औसतभन्दा कम वृद्धि हुने प्रक्षेपण गरिएकोछ। चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड रहने अनुमान गरिएकोमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ।

सर्वेक्षणले अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको, कमजोर उत्पादकत्व वृद्धि, आधुनिकीकरण र जलवायु परिवर्तनको प्रभावलाई कृषि क्षेत्रको चुनौतीको रूपमा औंल्याएको छ।
२०८२ फागुनसम्म स‌ंघीय एकीकृत राजस्व संकलनमा सुस्तता देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा स‌ंघीय राजस्व १२ खर्ब ८१ अर्ब ७० करोड र खर्च १७ खर्ब ७५ अर्ब ४७ करोड रहेको थियो।
स‌ंघीय वित्त सन्तुलन ५८ अर्ब १ करोड घाटामा र प्राथमिक सन्तुलन ९ अर्ब ३९ करोड घाटामा छ।
सार्वजिनक ऋण फागुनसम्म २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जुन जीडीपीको ४३.६ प्रतिशत हो। आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत छ।
तीन तहका सरकारबीच अनुदान हस्तान्तरण ३.७ प्रतिशत बढेर ३ खर्ब ७३ अर्ब ९८ करोड पुगेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ को कार्यकारी सारांश

विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता, व्यापार अवरोध र मध्यपूर्व एसियामा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान छ। उपभोक्ता मुद्रास्फीति ६.० प्रतिशत माथि रहने जोखिम रहेको छ।

नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४.० प्रतिशत र ७६.० प्रतिशत रहने अनुमान छ। पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ।

चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड रहने अनुमान छ। यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ।



प्रतिक्रिया दिनुहोस !