१३ जेष्ठ २०८३, बुधबार

सरसफाइमा कमजोरी भेटिएपछि जम्बुलिङ्ग ग्रुप इन्डस्ट्रिजका ७२ जार नष्ट

प्रकाशित मिति :  27 May, 2026 6:02 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा आकस्मिक बजार अनुगमन गर्दै तारकेश्वर क्षेत्रमा सञ्चालित एक खाद्य उद्योगमाथि कारबाही गरेको छ।

वैशाख १० गते र्‍यापिड रेस्पोन्स मोडालिटी अन्तर्गत गरिएको अनुगमनका क्रममा तारकेश्वर–१०, काठमाडौंस्थित जम्बुलिङ्ग ग्रुप इन्डस्ट्रिज प्रा. लि. मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरीहरू भेटिएको विभागले जनाएको छ।

निरीक्षणका क्रममा पुनः प्रयोग गरिने जारहरू कुचिएको, कोत्रिएको तथा फुटेको अवस्थामा प्रयोग भइरहेको पाइएपछि ती सामग्रीहरू खाद्य सुरक्षाका दृष्टिले असुरक्षित भएको निष्कर्ष निकालिएको थियो। साथै, उद्योगमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत सरसफाइमा लापरवाही गरेको र हेडनेट तथा मास्कको प्रयोग नगरेको समेत पाइएको छ।

त्यसैगरी प्रशोधन कक्षमा टायलहरू फुटेको र पाइपहरूबाट पानी चुहिने समस्या रहेको तथा समग्र सरसफाइको अवस्था पनि सन्तोषजनक नभएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ।

विभागले सोही अनुगमनका क्रममा ७२ वटा पुनः प्रयोग गरिने जारहरू नष्ट गरेको छ। साथै सरसफाइ सुधार गर्न निर्देशन दिँदै प्रयोगशाला परीक्षणका लागि प्रशोधित पिउने पानी (जार) को नमुना संकलन गरिएको छ। अनुमतिपत्र नवीकरण नगरेको विषयमा दुई दिनभित्र प्रमाणसहित उपस्थित हुन समेत निर्देशन दिइएको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !