१४ जेष्ठ २०८३, बिहिबार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको सङ्ख्या २८ लाख नाघ्यो

प्रकाशित मिति :  28 May, 2026 3:33 pm


काठमाडौँ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुने श्रमिक र रोजगारदाताको सङ्ख्या निरन्तर बढ्दै गएको छ।

आर्थिक सर्वेक्षण २०८२ / 0८३अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको सङ्ख्या २८ लाख ५१ हजार ३ सय ८२ पुगेको छ।

औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारीमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९ सय ४ तथा स्वरोजगार क्षेत्रका ८ सय ३२ श्रमिक कोषमा आबद्ध भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

सामाजिक सुरक्षा कोषका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५ लाख ८७ हजार ४ सय ६४ रहेको थियो।

त्यस्तै रोजगारदाताको संख्या पनि वृद्धि भएको छ। २०८२ फागुनसम्म २३ हजार २ सय १० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप २ हजार २ सय २९ रोजगारदाता कोषमा आबद्ध भएका छन्। प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम रोजगारदाता तथा योगदानकर्ता सूचीकृत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

कोषमा सङ्कलित रकम पनि उल्लेखनीय रूपमा बढेको छ। २०८२ फागुनसम्म सामाजिक सुरक्षा कोषमा १ खर्ब ४ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ७५ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

दाबी भुक्तानीतर्फ पनि कोषको दायरा विस्तार हुँदै गएको देखिएको छ। २०८२ फागुनसम्म १० लाख ५३ हजारभन्दा बढी योगदानकर्तालाई करिब १९ अर्ब २४ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ।

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै २ लाख ९४ हजार ८ सय ५९ योगदानकर्तालाई करिब ३ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !