१५ जेष्ठ २०८३, शुक्रबार

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकताः ‘देशको नेतृत्व गर्ने गरी वैकल्पिक शक्ति निर्माण गर्दैछौँ’– अध्यक्ष घिसिङ

प्रकाशित मिति :  29 May, 2026 2:08 pm


काठमाडाैँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रममा दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हुन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे । उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङकाअनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा छन् । 

उनले भने, “उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ ।”

एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताए ।



प्रतिक्रिया दिनुहोस !