तराईमा ‘लू’को जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय
काठमाडौं । मनसुनसँगै तराईका जिल्लामा तापलहर (लू) को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले उच्च तापक्रम र तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेकाले विशेष सतर्कता आवश्यक रहेको बताए।
“तापलहरको जोखिमबाट बच्न सबैले पूर्वतयारी गर्नुपर्छ,” उनले भने, “दिउँसोको अत्यधिक गर्मीमा काम नगरी सकेसम्म बिहान वा साँझको समयमा काम गर्ने, पर्याप्त पानी र झोलिलो खानेकुरा सेवन गर्ने तथा आराम गर्ने बानी बसाल्नुपर्छ।”
उनका अनुसार मन्त्रालयले लूको जोखिम बढी रहेका तराईका जिल्लामा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको छ।
डा। अधिकारीले तापलहरका कारण आँखा र छालामा दीर्घकालीन असर पर्न सक्ने भएकाले उच्च तापक्रम भएका बेला घरबाहिर निस्कँदा सावधानी अपनाउन आग्रह गरे। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूलाई विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिए।
‘लू’ भनेको के हो ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्र्रता सँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण तापलहरको जोखिम बढ्दै गइरहेको छ । तापलहर (लू)का केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ । हिट वेभले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरुको चेतावनी छ ।
लू लाग्नुका कारणहरू के के हुन् ?
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । कंक्रीटका भवन र सडकहरूले ताप सोस्ने भएकाले शहरहरूमा लूको जोखिम अत्याधिक हुने गर्दछ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातोलहर चल्छ ।
तापलहर (लू)का लक्षणहरू
डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु
गर्मीजन्य थकानः रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महशुस हुनु
हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु
मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु
तापलहर (लू)लाग्नबाट बच्न के गर्ने ?
– दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कनुहोस् ।
– हल्का र खुकुलो कपडा लगाउनुहोस् ।
– चिसो वा छायाँयुक्त स्थानमा बस्नुहोस् ।
– सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्नुहोस् ।
– हल्का तथा पौष्टिक खाना खानुहोस् ।
– चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।
– शरीरमा पानीको मात्रा पर्याप्त राख्नुहोस् ।
– रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्नुहोस् ।
– अत्यधिक शारीरिक श्रम नगर्नुहोस् ।
– गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्नुहोस् ।
–न्युज एजेन्सी नेपाल








