नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र स्रोत घट्दो
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत सञ्चालन हुने परियोजना र त्यसबाट प्राप्त हुने स्रोत दुवै उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।
सरकारी तथ्यांकअनुसार पछिल्लो चार वर्षमा यस्ता परियोजनाको संख्या करिब दुई तिहाइले घटेको छ भने प्राप्त हुने स्रोत पनि झन्डै आधामा सीमित भएको छ।
ललितपुरमा आयोजित विकास बहससम्बन्धी कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याल ले आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजनामार्फत करिब ४० अर्ब रुपैयाँ स्रोत नेपाल भित्रिएको जानकारी दिइन्।
उनका अनुसार त्यसयता परियोजना र स्रोत दुवै वर्षेनि घट्दै गएका छन्। चालु आर्थिक वर्षमा पनि यो क्रम जारी रहने अनुमान मन्त्रालयले गरेको छ।
“पछिल्लो चार वर्षको तथ्यांक हेर्दा परियोजनाको संख्या करिब दुई तिहाइले घटेको छ भने स्रोत पनि आधाजति घटेको अवस्था छ,” अर्यालले भनिन्।
परियोजना तथा स्रोत घट्नुका पछाडि विश्वव्यापी आर्थिक संकट, अन्तर्राष्ट्रिय नीतिगत परिवर्तन र नेपाल नेपाल अल्पविकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाको प्रभाव हुन सक्ने उनले बताइन्।
“नेपालको आन्तरिक क्षमता बढ्दै गएको अवस्था, विश्व अर्थतन्त्रमा आएको परिवर्तन तथा एलडीसीबाट स्तरोन्नति हुने प्रक्रियाले पनि यसमा प्रभाव पारेको हुन सक्छ,” उनले भनिन्।
सचिव अर्यालले नेपालमा कार्यरत गैरसरकारी संस्थामाथि प्रभावकारी अनुगमन आवश्यक रहेको पनि औंल्याइन्।
– न्युज एजेन्सी नेपाल








