शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको अपिल
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै तीन दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम विज्ञान विभागको पूर्वानुमान सार्वजनिक गरेका हुन्। सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने उनले बताएका छन्।
मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउनसमेत उनले अनुरोध गरेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न आग्रह गरिएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानसँगै सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले सम्भावित विपद्बाट जोगिन सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अपनाउन अपिल गरेका छन्।









