नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिबद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र दिएका सान्दर्भिक सुझावको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने बताएका हुन्।
वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएकाले यसलाई समयानुकूल अद्यावधिक गर्न आवश्यक रहेको बताए। सांसदहरूले उठाएका विषयलाई पाँच मुख्य बुँदामा संश्लेषण गर्दै उनले लगानीको दायरा फराकिलो बनाउन र संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे।
आन्तरिक बचत परिचालनको महत्त्वमा जोड दिँदै उनले भने, ‘हाम्रो राष्ट्रिय बचतले मात्र लगानीको ठूलो खाडल पुर्न सक्दैन, त्यसैले आन्तरिक र बाह्य दुवै स्रोतको परिचालन अपरिहार्य छ। हामी निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौँ, तर सरकारको वित्तीय र मौद्रिक नीति कार्यान्वयनका लागि यी संस्थाहरू औजार हुन्।’
केही सांसदहरूले आन्तरिक बचत पर्याप्त रहेको दाबी गरे पनि देशको राजस्व र खर्चको अवस्था हेर्दा ठूलो लगानीको आवश्यकता रहेको उनले बताए।
जोखिम व्यवस्थापनका विषयमा सांसदहरूले राखेको चासोलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि उनले बताए। ‘नाफा निजीकरण र घाटा सामाजिकीकरण’ हुने जोखिमप्रति सचेत रहँदै उनले सार्वजनिक संस्थामा जोखिमपूर्ण लगानीको सीमा तोकिने र स्वार्थ बाझिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
सरकारको नीति कार्यान्वयनका लागि सार्वजनिक संस्थानमा सरकारको नियन्त्रण र नियमन आवश्यक रहेको भन्दै उनले नियुक्त पदाधिकारीलाई उत्तरदायी बनाउन सरकारले विशेष ध्यान दिने बताए।
डिजिटल प्रविधिको उपयोग र संस्थागत सुधारका प्रस्तावलाई समेटेर विधेयकलाई थप जिम्मेवार ढङ्गले अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
– न्युज एजेन्सी नेपाल









