२२ जेष्ठ २०८३, शुक्रबार

‘निलो क्रान्ति’ टिक्दैन, दिगो विकल्प हरित क्रान्ति हो : घिसिङ

प्रकाशित मिति :  5 June, 2026 3:08 pm


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’ नै अन्तिम र दिगो विकल्प भएको दाबी गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी पनि गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले मुलुकमा विगतमा भएका विभिन्न राजनीतिक परिवर्तनलाई विभिन्न रङका क्रान्तिका रूपमा व्याख्या गर्दै अबको आवश्यकता आर्थिक र वातावरणीय रूपान्तरण भएको बताए।

“निलो क्रान्ति धेरै समय टिक्दैन, अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति हो,” उनले भने, “यसले नेपाललाई दिगो विकासको आधार दिन्छ र राजनीतिक स्थायित्वमा समेत सहयोग पुर्‍याउँछ।”

घिसिङका अनुसार उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित छ। पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले पनि ऊर्जा र शक्तिको सन्देश दिने भएकाले यो अवधारणा थप स्पष्ट हुने उनको भनाइ छ।

उनले हरित क्रान्तिको केन्द्रमा सुशासन रहने उल्लेख गर्दै जलस्रोतको अधिकतम उपयोग, जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरिया उत्पादनलाई पार्टीको प्रमुख प्राथमिकतामा राखिएको बताए।

“हामीले पहिले नै घोषणापत्रमा हरित हाइड्रोजन र हरित युरिया समेटेका थियौँ,” घिसिङले भने, “हालैको बजेटमा ती विषय समेटिएको देख्दा सकारात्मक लाग्छ।”

यसैबीच, घिसिङले आफ्नो पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्‍याएका छन्। उनका अनुसार उज्यालो नेपाल पार्टी जनताको समस्या केन्द्रमा राखेर अघि बढ्नेछ।

सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै उनले जनअपेक्षाअनुसार काम नभए सशक्त प्रतिवाद गर्ने चेतावनी दिए। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तहदेखि नै संगठन विस्तार गर्ने ‘उज्यालो अभियान’ सञ्चालन गरिरहेको उनले बताए।

घिसिङले सरकार बाहिर रहेर पनि विकास, अर्थतन्त्र र सामाजिक रूपान्तरणमा योगदान दिन सकिने भन्दै पार्टीलाई जनतामाझ मजबुत बनाउने प्रतिबद्धता जनाए।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !