२४ जेष्ठ २०८३, आइतबार

राम्दीमा नेपालकै पहिलो सीएफएसटी आर्च पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालन गर्ने लक्ष्य

प्रकाशित मिति :  7 June, 2026 2:12 pm


काठमाडौं । पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा निर्माणाधीन नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटी) आर्च’ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ। सडक विभागले असारभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार पुलको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। मुख्य संरचना तयार भइसकेको र डेक कन्क्रिटिङसहित केही सहायक संरचनाको काम मात्र बाँकी छ।

“आर्थिक वर्षको अन्त्यसम्म पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ,” जैसीले भने।

उनका अनुसार राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्वको स्थान हो। जलविद्युत् आयोजनाका उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत यो पुल महत्वपूर्ण मानिएको छ।

पुरानो पुलमा पछिल्ला वर्षहरूमा कम्पनसम्बन्धी समस्या देखिएपछि दीर्घकालीन समाधानका रूपमा नयाँ पुल निर्माण गरिएको उनले बताए।

नयाँ पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडलमार्फत निर्माण भइरहेको छ। निर्माण कम्पनीले प्रस्ताव गरेको सीएफएसटी आर्च डिजाइन स्वीकृत गरी काम अघि बढाइएको विभागले जनाएको छ।

“यो आर्च पुल बलियो र स्थिर मानिन्छ। चीनमा यस प्रकारको प्रविधिको व्यापक प्रयोग भइरहेको छ,” जैसीले भने।

१२५ मिटर स्पान रहेको पुलमा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि प्रयोग गरिएको छ। कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भई थप बलियो संरचना तयार हुने र पुलको भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुने डिजाइन रहेको विभागले जनाएको छ।

विभागका अनुसार पुलले करिब १०० टनसम्मको समग्र भार वहन गर्न सक्ने क्षमता राख्नेछ। नेपालमा भर्टिकल ह्याङ्गरयुक्त सीएफएसटी आर्च पुल पहिलोपटक निर्माण हुन लागेको हो।

यसअघि मुग्लिङ र काठमाडौंको बिजुलीबजारमा आर्च पुल निर्माण भए पनि सीएफएसटी प्रविधिमा आधारित पुल भने राम्दीमा पहिलोपटक निर्माण भइरहेको विभागले जनाएको छ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !