२४ जेष्ठ २०८३, आइतबार

स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक : सचिव देवकोटा

प्रकाशित मिति :  7 June, 2026 2:15 pm


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न ऐन संशोधन आवश्यक रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले स्वास्थ्य बीमा सुधारका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य रहेको उल्लेख गरे।

“स्वास्थ्य बीमा सुधारका लागि बीमा ऐन संशोधन गर्नुपर्ने अवस्था छ,” देवकोटाले भने, “साउन १ गतेदेखि नै सुधारका काम अघि बढाउने गरी तयारी गरिरहेका छौँ।”

उनका अनुसार बीमा कार्यक्रमसँग सम्बन्धित विभिन्न गुनासा तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको छ। हालसम्म भएका निर्णय र सार्वजनिक रूपमा उठेका विषयलाई आधार बनाएर सुधार प्रक्रिया अघि बढाइने उनले बताए।

देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको दाबी गर्दै आगामी आर्थिक वर्षका लागि बजेट दोब्बर बढाइएको उल्लेख गरे।

“विगतका वर्षमा स्वास्थ्य बीमाका लागि करिब साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन हुने गरेको थियो, आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ छुट्याइएको छ,” उनले भने, “यसले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा रहेको स्पष्ट देखाउँछ।”

सचिव देवकोटाले आगामी तीन वर्षभित्र आधारभूत स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !