सरकारी नीतिको कार्यान्वयनमा इप्पान निर्वतमान अध्यक्ष कार्कीको जोड
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निःवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका महत्वपूर्ण एजेण्डाहरूलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गराउन सफल भएको बताएका छन् ।
नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले इप्पानले विगतमा उठाएका मागलाई सरकारले गम्भीर रूपमा लिएर नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गरेको बताए । ती विषयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानु अब नयाँ नेतृत्वको मुख्य चुनौती रहेको उनको भनाइ थियो ।
कार्कीले आफ्नो कार्यकालका उपलब्धि स्मरण गर्दै जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) अवधि ५० वर्ष कायम गर्ने, १८० दिनभित्र विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गर्ने तथा वन क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता समाधान गर्ने विषयमा सरकारसँग सहमति जुटेको जानकारी दिए ।
उनले सरकारले घोषणा गरेको एकद्वार प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको र बजेटमार्फत १० मेगावाटसम्मका आयोजनासँग ‘टेक अर पे’ अवधारणाअनुसार पीपीए गर्ने व्यवस्था सुनिश्चित गरिएको बताए ।
यद्यपि, नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित केही प्राविधिक तथा प्रक्रियागत समस्या अझै समाधान हुन बाँकी रहेको उनले उल्लेख गरे ।
कार्कीले भने, “आरसीओडी, हाइड्रोलोजी पेनाल्टी र कन्टिन्जेन्सीका विषयमा प्राधिकरणसँग निरन्तर छलफल भइरहेको छ । यी विषयलाई स्थायी रूपमा समाधान गर्न नयाँ कार्यसमितिले थप तदारुकता देखाउनुपर्छ ।”
इप्पानको नयाँ नेतृत्व सहमति र सहकार्यका आधारमा निर्विरोध चयन हुनुलाई उनले संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे । नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा रहेको टोली अनुभवी र ऊर्जावान रहेको उल्लेख गर्दै उनले पुरानो अनुभव र नयाँ पुस्ताको जोसबीच सन्तुलन कायम भएकाले ऊर्जा उद्यमीहरूको हितमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे ।
कार्कीले संस्थालाई सशक्त बनाउन र ऊर्जा क्षेत्रका मुद्दालाई स्थापित गर्न सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्य, ऊर्जा उद्यमी तथा सांसदहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थागत एकता र सामूहिक प्रयासबाट मात्रै ठूला उपलब्धि हासिल गर्न सकिनेमा जोड दिए ।
– न्युज एजेन्सी नेपाल








