१ असार २०८३, सोमबार

इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिक, ऊर्जा क्षेत्रमा नीतिगत सुधारदेखि डिजिटलकरणसम्म प्राथमिकता

प्रकाशित मिति :  15 June, 2026 11:10 am


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि विस्तृत कार्यदिशा सार्वजनिक गरेका छन् । उनले ऊर्जा क्षेत्रमा लगानी सुरक्षा, नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रविधिमैत्री प्रणाली विकासलाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेका हुन् ।

नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डाँगीले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरे । उनले ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारासहित इप्पान अघि बढ्ने जानकारी दिए ।

डाँगीका अनुसार ‘इप्पान भिजन २०२९’ मा उल्लेख गरिएका कार्यक्रमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गरिनेछ । सामूहिक नेतृत्व अवधारणाअन्तर्गत इप्पानले सात वटा विशेष समिति र आवश्यकताअनुसार उपसमितिहरू गठन गर्ने योजना रहेको उनले बताए । ती समितिहरूलाई स्पष्ट कार्यसूचीसहित अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइनेछ ।

निःवर्तमान अध्यक्षको संयोजकत्वमा अधिकतम ११ सदस्यीय सल्लाहकार समिति र ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय उच्चस्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिने उनको भनाइ छ ।

सरकारका पूर्वसचिवको संयोजकत्वमा छुट्टै विज्ञ समिति गठन गरी अनुसन्धान तथा विकास (आर एन्ड डी) सम्बन्धी काम अघि बढाइने उनले जानकारी दिए । उक्त समितिले विद्युत् विधेयक, वन विधेयक लगायत विकास निर्माणमा बाधक देखिएका कानुन तथा नियमावलीहरूको अध्ययन गरी संशोधनका लागि सरकार तथा संसदीय समितिसँग समन्वय गर्नेछ ।

अध्यक्ष डाँगीले वैदेशिक सहयोगमा बन्ने केही विधेयकहरूले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पानले आवश्यक परे आफ्नै विधेयक मस्यौदा तयार गरी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने रणनीति लिने बताए ।

ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिने उनले बताए । करिब ७० लाख जनताको लगानी रहेको क्षेत्रलाई मर्यादित बनाउन विज्ञहरूको सुझावअनुसार आचारसंहिता तयार गरी साधारण सभाबाट स्वीकृत गरिनेछ ।

उनका अनुसार निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र व्यापारमा समेत सहभागी गराउने विषयमा छुट्टै दृष्टिकोण पत्र तयार पारिनेछ ।

इप्पानलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार प्रत्येक सदस्यलाई युजरनेम र पासवर्डमार्फत तथ्याङ्क पहुँच दिने व्यवस्था मिलाइनेछ । आगामी अधिवेशनदेखि अनलाइन मतदान प्रणाली लागू गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए । साथै, संस्थाको सचिवालयका लागि आफ्नै भवन निर्माण गर्ने र दाताहरूको योगदानअनुसार संरचनाका भागहरूको नामकरण गर्ने योजना समेत अघि सारिएको छ ।

नेपालको ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्डिङका लागि विदेश समन्वय उपसमिति गठन गरी अवैतनिक दूतहरूसँग सहकार्य गरिने र अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरिने डाँगीले बताए ।

जलविद्युतसँगै सौर्य ऊर्जा, ग्रिन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यास प्रवर्द्धन गर्ने नीति इप्पानले लिने उनको भनाइ छ । साथै भारत, चीन र बंगलादेशका लगानीकर्तासँग अनुभव आदान–प्रदानका लागि नियमित कार्यक्रम सञ्चालन गरिनेछ ।

अध्यक्ष डाँगीले निर्वाचनका क्रममा देखिएका वैचारिक मतभेद अन्त्य भइसकेको उल्लेख गर्दै इप्पान अब पूर्ण रूपमा एकताबद्ध रूपमा अघि बढ्ने स्पष्ट पारे ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !