३ असार २०८३, बुधबार

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा

प्रकाशित मिति :  17 June, 2026 10:49 am


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ।

नयाँ नोटको अगाडिपट्टि सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीको छाप तथा पाटे बाघको चित्र समावेश गरिएको छ। फरक क्षमता भएका व्यक्तिले स्पर्शमार्फत नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले विशेष कालो थोप्ला पनि राखिएको छ।

नोटमा सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण चिन्ह तथा सुरक्षण धागो प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ। साथै, नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।

राष्ट्र बैंकका अनुसार नयाँ डिजाइन र थप सुरक्षण विशेषतासहितको ५०० रुपैयाँको नोट बुधबारदेखि बैंक तथा वित्तीय संस्थामार्फत बजारमा प्रवाह गरिनेछ। नयाँ नोट प्रचलनमा आए पनि हाल चलनचल्तीमा रहेका पुराना ५०० रुपैयाँका नोट भने यथावत् वैध रहने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !