अध्ययन बिदा दुरुपयोग रोक्न त्रिविको कडा कदम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि सेवामा नफर्किने प्राध्यापक तथा कर्मचारीमाथि निगरानी कडा बनाएको छ। विश्वविद्यालयले त्यस्ता शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार जारी गरेको सूचनामा अध्ययन बिदा उपभोग गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका वा सम्झौताअनुसारको सेवा अवधि पूरा नगरी पद त्याग गरेका व्यक्तिलाई सम्पर्कमा आउन आह्वान गरेको छ। अन्यथा कबुलियतनामा र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि चेतावनी दिइएको छ।
त्रिविले अध्ययन बिदाको दुरुपयोग रोक्न थालेको अभियानअन्तर्गत हालसम्म ५० जना प्राध्यापकबाट ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकेको जनाएको छ। विश्वविद्यालयका अनुसार अध्ययन बिदा उच्च शिक्षा तथा अनुसन्धानमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उपलब्ध गराइने सुविधा हो।
तर, केही प्राध्यापकले अध्ययन पूरा गरेपछि विश्वविद्यालयमा फर्केर सेवा नगर्दा आर्थिक तथा शैक्षिक क्षति पुगेको त्रिविको निष्कर्ष छ। विश्वविद्यालयले बाँकी बक्यौता असुली तथा कानुनी प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।








