२८ भदौ २०८३, आइतबार

नेपाली सेनाका एक जर्नेल र एक कर्णेल सेवाबाट बर्खास्त

प्रकाशित मिति :  1 July, 2020 9:02 pm


काठमाडौं,१७ असार ।

नेपाली सेनाले एक जर्नेल र एक जना कर्णेललाई सेवाबाट बर्खास्त गरेको छ । सैनिक अदालतले आज सहायक रथी (ब्रिगेडियर जनरल) सुरेन्द्रसिंह रावल र महासेनानी(कर्णेल)अनिल खड्कालाई बर्खास्त गरेको छ ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ,‘आज मिति २०७७ आषाढ १७ गते बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको छ ।’

दुबै जनाले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गर्दै सैनिक अदालतले दुबै जनालाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको सेनाले जानकारी गराएको छ ।

सेनाले भनेको छ,‘ पद्दती र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको ब्यहोरा जानकारी गराइन्छ ।’



प्रतिक्रिया दिनुहोस !