पत्रकारमाथि बढ्दो आक्रमणप्रति विज्ञको चिन्ताः ‘लोकतन्त्रको अन्तिम घेरा नै असुरक्षित बन्दैछ’
काठमाडौं । नेपालमा पत्रकारविरुद्ध हुने आक्रमण बढ्दै गएको भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पत्रकारहरू मानव अधिकार र लोकतन्त्रका रक्षक भएकाले उनीहरूमाथि हुने आक्रमणले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् ।
मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनअन्तर्गत सोमबार काठमाडौंमा आयोजित छलफलमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल र पत्रकार आरती रायलगायत वक्ताहरूले पत्रकारमाथिको भौतिक, कानुनी र डिजिटल आक्रमण क्रमशः बढ्दै गएको बताएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सत्ता परिवर्तन भए पनि पत्रकारप्रतिको राजनीतिक दृष्टिकोणमा खासै परिवर्तन नआएको बताए । सत्तामा पुगेपछि राजनीतिक दलहरूले आफ्ना कमजोरी बाहिर आउने डरले पत्रकारितामाथि नियन्त्रण गर्न खोज्ने प्रवृत्ति देखिने उनको भनाइ थियो ।
“मानव अधिकार रक्षकहरू संरचनागत रूपमा नै असुरक्षित हुन्छन् । किनभने उनीहरूले सामान्य मानिसको आवाज बाहिर ल्याउने काम गर्छन्,” उनले भने, “हामी पत्रकारहरूले सबैभन्दा ठूलो असजिलो सत्तामा पुगेका राजनीतिक शक्तिसँग भोग्छौँ । अघिल्लो दिनसम्म सँगै रहेका मानिसहरू सत्तामा पुगेपछि पत्रकारलाई असहज ठान्न थाल्छन् ।”
गाउँलेले माओवादी द्वन्द्वकालको उदाहरण दिँदै सुरुआतमा मानव अधिकारकर्मी र पत्रकारको सहयोग खोज्ने शक्ति सत्ताको नजिक पुगेपछि उनीहरूप्रति असहिष्णु बन्ने गरेको अनुभव सुनाए ।
“पत्रकारको काम हल्ला गर्ने हो र न्यायाधीशको काम विवेक प्रयोग गर्ने हो,” उनले भने, “पत्रकार र न्यायाधीश लोकतन्त्रको अन्तिम घेराका रक्षक हुन् । हामीबाट गल्ती भएका होलान्, तर मानव अधिकारको रक्षाका लागि हामीले आफ्नो विवेक र क्षमताले भ्याएसम्म काम गरिरहेका छौँ ।”
डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देलले प्रविधिको विकाससँगै पत्रकारमाथिको दबाब र आक्रमणको स्वरूप बदलिएको बताए । विगतमा भौतिक आक्रमण बढी हुने गरे पनि अहिले साइबर कानुन, अनलाइन अभियान र सामाजिक सञ्जालमार्फत पत्रकारलाई दबाबमा पार्ने प्रवृत्ति बढेको उनको भनाइ थियो ।
उनले द्वन्द्वकालमा पत्रकारमाथि भएका आक्रमणका घटनामा सत्य र न्याय स्थापित हुन नसकेको भन्दै त्यसले दण्डहीनताको संस्कारलाई निरन्तरता दिएको बताए ।
“आज पत्रकारमाथिको आक्रमण समन्वयात्मक ढङ्गले भइरहेको छ,” उनले भने, “कहिले अनफलो अभियान चलाइन्छ, कहिले कुनै राजनीतिक दलको झोले भनेर आक्रमण गरिन्छ, कहिले निजी सूचना सार्वजनिक गरिन्छ । पत्रकार महासंघ र फ्रिडम फोरमका प्रतिवेदनहरूले पनि पत्रकारविरुद्धका घटना बढ्दै गएको देखाएका छन् ।”
सिग्देलले आफूअनुकूल समाचार नआएपछि नेताहरूले साइबर अपराधमा उजुरी दिने धम्की दिने प्रवृत्ति बढेको उल्लेख गर्दै यसले पत्रकारमा आत्मनियन्त्रण (सेल्फ सेन्सरसिप) को वातावरण सिर्जना गरिरहेको बताए ।
पत्रकार आरती रायले यौन हिंसा र लैङ्गिक अपराधजस्ता संवेदनशील विषयमा समाचार सङ्कलन गर्न जाँदा सरकारी निकायबाटै अवरोध र मानसिक दबाब खेप्नुपर्ने अवस्था रहेको बताइन् ।
उनले राष्ट्रिय महिला आयोगलगायत संवैधानिक निकायमा सूचना माग्न जाँदा पत्रकारको पहिचानमाथि प्रश्न उठाइने, सूचना दिन आनाकानी गरिने र विभिन्न बहानामा झुलाइने गरेको अनुभव सुनाइन् ।
“सूचना दिन मन नभएपछि घुमाइदिने, पत्रकारलाई नै प्रश्न गर्ने र निरुत्साहित बनाउने प्रवृत्ति बढेको छ,” उनले भनिन्, “कुनै सामाजिक वा यौन हिंसासम्बन्धी घटनाको सूचना लिन जाँदा कहिलेकाहीँ पत्रकार आफैँले मानसिक सजाय भोग्नुपर्ने अवस्था आउँछ ।”
वक्ताहरूले पत्रकारमाथि हुने भौतिक, कानुनी र डिजिटल आक्रमण रोक्न राज्यले प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
– न्युज एजेन्सी नेपाल








