भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु
काठमाडौँ ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीकाअनुसार आगलागी भएको उक्त भवनमा एक कोचिङ सेन्टर सञ्चालनमा थियो ।
आगलागी हुँदा विद्यार्थी कक्षामा अध्ययनरत रहेको बताइएको छ । ज्यान जोगाउनका लागि भवनको झ्यालबाट हामफाल्दा केही विद्यार्थीहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीहरूले हालसम्म मृतकको आधिकारिक सङ्ख्या पुष्टि नगरे पनि केही सञ्चारमाध्यमहरूले घटनामा कम्तीमा १४ जनाको ज्यान गएको उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको समेत जानकारी दिएका छन् ।
-सिन्ह्वा/न्युज एजेन्सी नेपाल








