२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गर्दै सांसद गच्छदारको आपत्ति

प्रकाशित मिति :  8 July, 2026 12:43 pm


काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सीमा क्षेत्रका नेपाली नागरिक दबाब र मानसिक त्रासमा परेको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि सुस्ता र ठोरीलगायत सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतीय पक्षबाट दबाब खेप्नुपरेको बताइन्।

प्रधानमन्त्रीले संसदमा उपस्थित भई आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने भन्दै उनले सभामुख डोलप्रसाद अर्याललाई आवश्यक रुलिङ गर्न आग्रह गरिन्।

उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरेको आरोप पनि लगाइन्।

उनले भनिन्, “प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपाली सीमा पारिबाट चर्को दबाब र मानसिक त्रास झेल्न बाध्य छन्। संसदलाई बेवास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्छ? प्रधानमन्त्रीले संसदमा आएर स्पष्टिकरण दिनुपर्छ। पाँच दिनको अल्टिमेटम र २५ हजार रुपैयाँको लोभ देखाएर सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेट्नु सरकारको अमानवीयताको पराकाष्ठा हो।”

सांसद गच्छदारले वर्तमान सरकारले गरिब र विपन्न नागरिकलाई थप पीडा दिएको भन्दै यसलाई जनताको सरकार भन्न नसकिने टिप्पणी गरिन्।



प्रतिक्रिया दिनुहोस !