पुराणमा सीमित मोक्षमार्ग अब वागमती सरकारले ब्युँताउँदै
काठमाडौं। करिब दुई हजार नौ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ।
वागमती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार परियोजनाको कुल लागत एक खर्ब ९३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौं र काभ्रेपलाञ्चोकका लागि चार करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। परियोजनाका लागि तीन गुणा स्रोत सहमतिसमेत दिइएको छ। ती कार्यालयमार्फत प्रारम्भिक चरणमा केही स्थानमा नमूना कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
यसअन्तर्गत सिन्धुलीस्थित शिव सर्किटको पहिलो तपोभूमि यात्रा सुरु हुने स्थल आदिलिङ्ग कुशेश्वर महादेवमा पाँच करोड ७६ लाख रुपैयाँको काम सुरु भइसकेको छ। दुम्जा क्षेत्रको डीपीआरअनुसार त्यहाँ करिब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेश सरकारले १० जिल्लामा रहेका ६४ शिवलिङ्गलाई धार्मिक तथा पर्यटकीय सर्किटमार्फत जोड्ने काम अघि बढाएको बताए। यसबाट धार्मिक पर्यटनसँगै आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।
परियोजना सम्पन्न हुन केही समय लागे पनि यसले दीर्घकालीन पर्यटन विकासको आधार तयार गर्ने उनको भनाइ छ। बजेट व्यवस्थापन भइसकेकाले परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनले बताए।
आर्थिक वर्ष २०८३/८४ का लागि परियोजनामा सात करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले ६३ किलोमिटर सडक स्तरोन्नति गर्न सकिए वर्षभर सहज आवागमन हुने बताए।
प्रदेश सरकारका अनुसार शिव सर्किटमा काठमाडौंका २४, ललितपुरका १०, भक्तपुरका नौ, मकवानपुरका सात, काभ्रेपलाञ्चोकका छ, धादिङका तीन, नुवाकोटका तीन, सिन्धुपाल्चोकका दुई तथा सिन्धुली र दोलखाका एक–एक शिवालय समेटिएका छन्।
आवास तथा सहरी विकास महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवले इन्जिनियरिङ तथा जीआईएस अध्ययनअनुसार सिन्धुलीको आदिलिङ्ग कुशेश्वरदेखि पशुपतिनाथसम्म सर्किटको कुल लम्बाइ ९५५.२७ किलोमिटर हुने बताए। यसमध्ये ३४ किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिने र ६३ किलोमिटर सडक स्तरोन्नति गरिने उनले जानकारी दिए।
यो सर्किट पूर्वाधार निर्माणको योजना मात्र नभई स्कन्द पुराणको हिमवत्खण्डमा वर्णित करिब दुई हजार नौ सय वर्ष पुरानो मोक्षमार्गलाई पुनर्जीवित गर्ने प्रयासका रूपमा हेरिएको छ। पुराणअनुसार मातृगमनको महापाप र कुष्ठरोगबाट पीडित विरूपाक्षलाई ने मुनिले ६४ शिवलिङ्गको दर्शन गराउँदै पशुपतिनाथ पुर्याई पापमुक्त गराएको उल्लेख छ। यही महायात्राको पहिलो पाइला सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक, दुम्जास्थित आदिलिङ्ग कुशेश्वर महादेवबाट सुरु हुने धार्मिक विश्वास छ।
प्राध्यापक दुर्गाप्रसाद दाहालले नेपालका ६४ ज्योतिर्लिङ्गको परिक्रमा कुशेश्वर महादेवबाट सुरु हुने बताए।
स्थानीय नहकुल कोइरालाका अनुसार आदिलिङ्ग कुशेश्वरसँग अर्को रोचक जनविश्वास पनि जोडिएको छ। एक किसानकी कैली गाईले दैनिक कुशको झाडीमा दूध चढाउने गर्थी। पछि त्यही स्थानमा उत्खनन गर्दा आदिलिङ्ग प्रकट भएको विश्वास गरिन्छ। यही तपोभूमिमा भगवान् शिवले ब्रह्मालाई सृष्टिको ज्ञान दिएको, मार्कण्डेय ऋषिले चिरञ्जीवी हुने वरदान पाएको र विश्वामित्रले गायत्री मन्त्रको उत्पत्ति गरेको धार्मिक मान्यता रहेको उनले बताए।
परियोजनाअन्तर्गत सडक, पदमार्ग, विश्रामस्थल र सूचना केन्द्र निर्माण गरिनेछ। सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्कीले स्थानीय ढुंगा, काठ, माटो तथा परम्परागत निर्माण सीप प्रयोग गर्दै ऐतिहासिक स्वरूप संरक्षण गरिने बताए।
परियोजना प्रभावकारी रूपमा कार्यान्वयन भए धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन, ग्रामीण विकास, स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
– न्युज एजेन्सी नेपाल








