५ जेष्ठ २०८१, शनिबार

एकाएक संघीय संसदको चालु अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति

प्रकाशित मिति :  2 July, 2020 5:26 pm


काठमाडौं,१८ असार । 

नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।’

यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श पनि नगरिएको र पूर्व सूचना नदिइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ ।’

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी रहेपनि अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ,‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? सम्माननीय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।’



प्रतिक्रिया दिनुहोस !