रोल्पाको उवामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, १० जना बेपत्ता
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका –०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् भने १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् । घटनाको खबर राति ९ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेपछि प्रहरीले उद्दार सुरु गरेको थियो ।
राति ११ः५५ बजे स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको प्रहरीको भनाई छ । त्यसैगरी, १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका छन् ।
थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसिओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
बिहान ४ः३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेको छ । घटनास्थलमा फोन सम्पर्क हुन नसकेको कारण र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








