२ भदौ २०८३, मंगलबार

फिलिपिन्समा भीषण वर्षा र बाढीपछि मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द

प्रकाशित मिति :  18 August, 2026 8:42 am


काठमाडौं । फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित भएपछि सोमबार यस्तो निर्णय लिइएको हो। राष्ट्रपतिको कार्यालयले सोमबार जारी गरेको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था र सरकारी निकायलाई वैकल्पिक कार्यव्यवस्था (अनलाइन वा भर्चुअल माध्यम) अपनाउन निर्देशन दिइएको छ।

यद्यपि, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवामा संलग्न अग्रपङ्क्तिका निकायलाई भने यो आदेश लागू नहुने जनाइएको छ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार हालसम्म देशका कम्तीमा ५० वटा सहर र नगरपालिकामा संकटकाल घोषणा गरिएको छ। पाम्पाङ्गा र काभाइट प्रान्तले आफ्ना सबै स्थानीय तहमा संकटकाल लागू गरेका छन्।

अत्यधिक वर्षाका कारण फिलिपिन्सका विभिन्न भूभागमा भीषण बाढी र पहिरो गएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी नियन्त्रण पूर्वाधार निर्माणमा भएको भ्रष्टाचार र ढिलासुस्तीका कारण कतिपय महत्वपूर्ण संरचना अधुरै रहेका वा उचित मर्मतसम्भारको अभावमा रहेकाले विपद् व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ।

-सिन्ह्वा/न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !