३ भदौ २०८३, बुधबार

मकवानपुर बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिताको शव फेला

प्रकाशित मिति :  19 August, 2026 1:32 pm


काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी थप एक बालिकाको शव फेला परेको छ।

मंगलबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएका दुई बेपत्ता बालिकामध्ये बुधबार बिहान एक जनाको शव भेटिएको हो।

स्थानीय निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत बिनिता भ्लोनको शव खोजी टोलीले खोलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जानकारी दिएको छ।

मङ्गलबार निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार जना छात्राहरूलाई घर फर्किँदा बासुदेव खोलाले बगाएको थियो।

घटना विवरण अनुसार खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार नै राक्सिराङ गाउँपालिका–१ की रेश्मा स्याङ्तान (कक्षा २) को मृतावस्थामा शव फेला परेको थियो भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो।

बेपत्ता भएकी अर्की छात्रा कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन भने अझै वेपत्ता छिन्र । प्रहरी, स्थानीय बासिन्दा र उद्धार टोलीले उनको तीव्र खोजी कार्य जारी राखेका छन्। वर्षाका कारण खोलामा बहाव बढेका बेला विद्यालयबाट फर्किँदै गर्दा यी बालिकाहरू दुर्घटनामा परेका हुन्।



प्रतिक्रिया दिनुहोस !