५ भदौ २०८३, शुक्रबार

युरोपकै पहिलो रोबोट्याक्सी सेवा क्रोएसियाको जाग्रेबमा शुरु, उबरमार्फत बुकिङ गर्न सकिने

प्रकाशित मिति :  21 August, 2026 11:36 am


काठमाडौँ । विश्व प्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो ‘रोबोट्याक्सी’ (चालकबिहीन ट्याक्सी) सेवा शुरु गरेको छ ।

क्रोएसियाली स्वायत्त सवारी साधन कम्पनी भर्नसँगको सहकार्यमा बुधवारदेखि यो सेवा आधिकारिक रूपमा सञ्चालनमा आएको हो । यससँगै जाग्रेब उबर एपमार्फत स्व–चालित कार बुक गर्न सकिने युरोपको पहिलो सहर बनेको छ । भर्नका सह–संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रीकाअनुसार यो उपलब्धि वर्षौको निरन्तर प्रयास र प्राविधिक विकासको परिणाम हो ।

‘हामीले सन् २०१९ मा स्वायत्त सवारी प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुयाउने र भविष्यको यातायात कस्तो हुन्छ भन्ने देखाउने उद्देश्यका साथ यो कम्पनी स्थापना गरेका थियौँ ।’ मुद्रीले भने । उनले यो यात्रा चुनौतीपूर्ण भएपनि आफूहरूले प्रयोगकर्ताको अनुभव र सुरक्षा पक्षलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

यी स्वचालित सवारी साधनहरूमा सुरक्षाको सुनिश्चितताका लागि एकजना अटोनामस भेइकल अपरेटर (निरीक्षक) रहने व्यवस्था गरिएको छ । सवारीको ड्यासबोर्डमा जडान गरिएको ट्याब्लेटमार्फत शहरका चोक, ट्राफिक लाइट र पैदलयात्रीहरूका बीचबाट गाडीले कसरी मार्गनिर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ ।

मुद्रीकाअनुसार यो सेवा सञ्चालनमा ल्याउन प्रविधिको विकाससँगै नियामक निकायहरूसँगको समन्वय पनि उत्तिकै महत्वपूर्ण रहेको थियो । युरोपेली कानुन र सरकारी मन्त्रालयहरूको सकारात्मक सहयोगका कारण व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त गर्न सहज भएको उनले जानकारी दिए । भर्नले चिनियाँ साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको हो ।

मुद्रीले पोनी एआईसँगको साझेदारीले सेवा परिमार्जन र विस्तारमा तिब्रता दिएको उल्लेख गर्दै भविष्यमा थप सुविधायुक्त नयाँ पुस्ताका सवारी साधनहरू ल्याउने योजना रहेको बताए । हाल यो सेवा जाग्रेबको करिब १०० वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ । प्रयोगकर्ताहरूले भर्नको आफ्नै मोबाइल एप वा उबर एपमार्फत यो रोबोट्याक्सी सेवा लिन सक्नेछन् । यस शुरुवातलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !