५ भदौ २०८३, शुक्रबार

शंखमुलको भ्याली ब्वाईज होस्टलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

प्रकाशित मिति :  21 August, 2026 1:53 pm


काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारको घटनामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनी बोल्नसमेत नसक्ने अवस्थामा उपचाररत थिए।

तर, उपचारकै क्रममा चिकित्सकले कालाथोकीलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अर्का आरोपित प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !