५ भदौ २०८३, शुक्रबार

गरिमा चौधरी हत्या प्रकरणमा न्याय माग्दै माइतीघरमा प्रदर्शन

प्रकाशित मिति :  21 August, 2026 3:12 pm


काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

सामाजिक अभियन्ता, टिकटक इन्फ्लुएन्सर तथा व्यवसायी मिना राणाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र बालबालिकाको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

प्रदर्शनकारीहरूले ‘जस्टिस फर गरिमा चौधरी’, ‘बलात्कारीलाई फाँसीको सजाय देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

बालिका तथा महिलामाथि हुने बलात्कार, हत्या र अन्य जघन्य अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था र त्यसको कडाइका साथ कार्यान्वयन हुनुपर्ने प्रदर्शनकारीहरूको माग थियो।

उनीहरूले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !