८ भदौ २०८३, सोमबार

दक्षिणी थाइल्याण्डमा श्रृंखलावद्ध आक्रमणपछि सैन्य उच्च शतर्कता, नाराथिवाटमा कफ्र्यु जारी

प्रकाशित मिति :  24 August, 2026 10:26 am


काठमाडौँ । थाइल्याण्डको दक्षिणी सीमावर्ती प्रान्तहरूमा श्रृंखलावद्ध हिंसात्मक आक्रमणका घटनाहरू भएपछि थाइल्याण्डको ‘फोर्थ आर्मी रिजन’ले सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन आग्रह गरेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार शनिवार राति ८ बजेदेखि नाराथिवाट, याला र पट्टानी प्रान्तका विभिन्न स्थानमा आगजनी र विस्फोटका घटनाहरू भएका हुन् । अज्ञात समूहद्वारा गरिएका यी आक्रमणहरूमा प्रशासनिक कार्यालयहरूमा आगजनी गर्ने, सवारी साधनका टायर जलाउने तथा विद्युतका पोल र पसलहरूमा विस्फोट गराउने जस्ता गतिविधिहरू संलग्न छन् ।

विशेष गरी नाराथिवाट प्रान्तमा मात्रै कम्तीमा ११ वटा हिंसात्मक घटनाहरू दर्ता भएका छन् । सोही प्रान्तमा भएको एक कार विस्फोटमा परी दुईजना घाइते भएको जानकारी दिइएको छ ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ‘नाराथिवाट टास्क फोर्स’ले सामाजिक सञ्जालमार्फत शनिबार राति १०ः१५ बजेदेखि आईतवार बिहान ६ बजेसम्मका लागि उक्त प्रान्तभर कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्युको समयमा अत्यावश्यक कार्यका लागि बाहिर निस्कनु परेमा स्थानीय सेना, प्रहरी वा प्रशासनिक निकायबाट पूर्व अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !